काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि मतदान कार्य सम्पन्न नहुँदासम्म लागू रहनेछ।
मौन अवधि सुरु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाइँदैन। त्यसैले मौन अवधि लागू हुनुअघि आज दिनभर राजनीतिक दल र उम्मेदवारहरू चुनावी सभा तथा अन्तिम प्रचारप्रसारमा व्यस्त छन्।

किन आवश्यक छ मौन अवधि?
मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद, झडप वा अप्रिय घटना नहोस् र मतदाता त्रसित नबनून् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौन अवधिको व्यवस्था गरिएको हो। शान्त र स्वच्छ वातावरणमा मतदान सम्पन्न गराउन तथा उम्मेदवारबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न यो प्रावधान लागू गरिन्छ।
यदि मतदानको अघिल्लो दिनसम्म पनि खुला प्रचारको अनुमति दिइएमा मतदातालाई प्रभाव पार्ने जोखिम रहने भएकाले मौन अवधि अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ।

के गर्न पाइँदैन?
कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइँदैन।

सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न निषेध छ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट पक्ष–विपक्षमा सन्देश, सामग्री पोस्ट वा शेयर गर्न पाइँदैन।

कुनै पनि विधि वा प्रक्रियाबाट मत माग्न वा प्रचार गर्न नहुने प्रावधान छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने सबै व्यक्ति र संस्थाले यी प्रावधान कडाइका साथ पालना गर्नुपर्नेछ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल वा उम्मेदवारलाई निर्देशन दिनेछ।

निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षले आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको छ।