
काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा रङ र लोला खेली हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश दिन्छ।
केही वर्षअघिसम्म उपत्यकामा उच्छृङ्खल ढङ्गले मनाइने होली पछिल्ला वर्षहरूमा भने सभ्य बन्दै गएको छ। प्रहरीको सक्रियतापछि सडकमा हिँड्ने व्यक्तिमाथि इच्छाविपरीत रङ तथा फोहर पानी छ्याप्ने गतिविधि लगभग बन्द भएको छ। फागु अघिल्लो दिन पनि राजधानीमा सहज आवागमन सम्भव भएको सर्वसाधारण बताउँछन्। भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा कामका लागि आउने रमा केसीका अनुसार यस वर्ष होलीका कारण असहज अवस्था सिर्जना भएको छैन।
वसन्तपुरमा चिर ढाल्ने परम्परा
होलीको मुख्य आकर्षणका रूपमा काठमाडौँको वसन्तपुरमा गाडिएको चिर विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वासका साथ लिने तथा चिरको खरानी टीका लगाउने परम्परा छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि रङ्गीचङ्गी ध्वजापताकाले सजाइएको चिर गाडिएपछि फागु आरम्भ भएको मानिन्छ। आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र राँगाको मासु चढाई ‘जधु’ धारामा विसर्जन गर्ने परम्परा पनि रहेको छ।
पौराणिक कथा र धार्मिक विश्वास
होली पर्व त्रेतायुगको कथासँग जोडिएको छ। दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्ने प्रयासमा आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकालाई आगोमा पठाउँदा होलिका नै भष्म भएकी र प्रह्लाद बचेकाले त्यसैको स्मरणमा होली मनाइने विश्वास छ।
त्यस्तै, द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाको वधपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि यस पर्वसँग जोडिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार यी कथाले असत्य र दुराचारमाथि सत्यको विजयको सन्देश दिन्छन्।
आयुर्वेदिक महत्व
आयुर्वेदविद्का अनुसार प्राकृतिक रङ तथा अबिरको प्रयोगले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने विश्वास छ। चिर जलाउँदा निस्कने धुवाँले जाडोयामका केही कीटाणु नष्ट हुने मान्यता पनि छ।
सार्वजनिक बिदा र तराईमा भोलि उत्सव
फागु पर्वका अवसरमा सरकारले आज पहाडी तथा हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले यस वर्ष त्यहाँ मङ्गलबार उत्सव मनाइँदैछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ।
विकृति घट्दै, उत्सव सभ्य बन्दै
अघिल्ला वर्षहरूको तुलनामा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, हानिकारक रासायनिक रङ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला प्रहार गर्ने जस्ता विकृति घट्दै गएको देखिन्छ। अहिले धेरैजसो समूह प्राकृतिक रङ प्रयोग गर्दै बाजागाजासहित नाचगान गर्दै पर्व मनाउनेतर्फ उन्मुख छन्।
यस अवसरमा भाङ मिसाइएका परिकार खाने, समूहमा घुम्ने र आपसी भेटघाट गर्ने चलन छ। थकाली समुदायमा भने सपरिवार भेला भई तीरन्दाजी प्रतियोगिता आयोजना गर्ने परम्परा छ। सात दिनसम्म चल्ने फागुमा आफन्त र नातेदारसँग भेटघाट गरी मिठा परिकारका साथ रमाइलो गर्ने गरिन्छ।
विश्वका विभिन्न देशमा रंगको उत्सव
रङको पर्व नेपाल र भारतबाहेक अन्य मुलुकमा पनि फरक–फरक नाम र शैलीमा मनाइन्छ। कतिपय देशमा सुगन्धित पानी छर्किने, नयाँ लुगा लगाउने, आगो वा पानीको पूजा गर्ने, नाचगान तथा हास्य कार्यक्रम आयोजना गर्ने परम्परा पाइन्छ। नाम र शैली फरक भए पनि आपसी सद्भाव र सामाजिक एकता प्रवद्र्धन गर्नु नै यस्ता उत्सवहरूको साझा उद्देश्य मानिन्छ।
फरक–फरक परम्परा भए पनि होलीले समाजमा भाइचारा, सहिष्णुता र उत्साहको सन्देश फैलाउँदै आएको छ।





Facebook Comments