काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न सबै मतदातासमक्ष हार्दिक अपिल गरेकी छिन् । इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया नभई आफ्नै र सन्तानको भविष्य निर्धारण गर्ने निर्णयका रूपमा लिन आग्रह गरिन् । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकाल सम्हाल्दाको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिको स्मरण गर्नुभयो। जनआन्दोलनपछिको संक्रमणकालीन अवस्थालाई हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ डो¥याउँदै संविधानको मार्गमा फर्काउनु सरकारको पहिलो कर्तव्य रहेको बताउँदै उनले देश अहिले विधिको शासन र स्थिरताको मार्गमा अघि बढ्न सफल भएको दाबी गरिन् । उक्त उपलब्धि नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ थियो ।
निर्वाचनको सँघारमा शान्ति र अमनचयन कायम राख्न आग्रह गर्दै प्रधानमन्त्रीले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको विशेषता भए पनि मनमुटाव र वैमनस्य नबढाउन सबै पक्षलाई सचेत गराइन् । चुनावी मैदानमा रहेका सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उनले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा बाँकी समयमा संयमित र मर्यादित ढंगले प्रचार–प्रसार गर्न आग्रह गरिन् । निर्वाचन व्यवस्थापनमा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको निष्पक्षता र मेहनतको प्रशंसा गर्दै उनले छोटो र चुनौतीपूर्ण समयमा कार्यतालिकाअनुसार सबै तयारी पूरा भएको जानकारी दिइन् । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन् । प्रदेश र स्थानीय सरकारबाट समेत महत्वपूर्ण सहयोग प्राप्त भएको र चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको उनको भनाइ छ ।
राष्ट्रपतिबाट प्राप्त अभिभावकीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्रीले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त उत्साहजनक साथ तथा प्राविधिक, वस्तुगत र नगद सहयोगप्रति धन्यवाद दिएकी छिन् । त्यसैगरी संयुक्त राष्ट्रसंघीय निकायबाट प्राप्त सहयोगप्रति पनि आभार व्यक्त गरिन् । सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत तथ्यहीन, कृत्रिम सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारले त्यस्ता गतिविधि निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको जानकारी दिइन् । भ्रममा नपर्न र जिम्मेवारीपूर्वक ऐतिहासिक दायित्व निर्वाह गर्न उनले सबै देशवासीलाई आग्रह गरिन् । मुलुकमा दण्डहीनतालाई प्रश्रय नदिने र कानुनअनुसार आवश्यक कारबाहीमा पछि नहट्ने सरकारको प्रतिबद्धता पनि उले स्पष्ट पारिन् ।
होली पर्वको सन्दर्भमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिने बताउनुभयो। निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् भन्ने कामना गरेकी छिन् । त्यसैगरी, मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको संकटप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्ता बढाएको बताइन् । उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको र सम्बन्धित नेपाली नियोगहरूलाई सक्रिय बनाइएको जानकारी दिइन् ।
प्रधानमन्त्रीले इतिहासको कठिन मोडमा देशको नेतृत्व गर्न पाउनु मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउँदै सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको उल्लेख गरेकी छिन् । सम्बोधनको मूल सन्देश भनेको शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक निर्वाचन सम्पन्न गराउन सबै नागरिकलाई सक्रिय, संयमित र जिम्मेवार बन्न आह्वान गर्नु हो। साथै सरकार स्थिरता, कानुनी शासन र नागरिक सुरक्षाप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउने प्रयास गरिएको छ ।







Facebook Comments