काठमाडौं ।बौद्धिक अपाङ्गता संघ, नेपालले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले “मतदान अभिमुखीकरण तथा नमूना मतदान कार्यक्रम” आयोजना गरेको छ।

स्वयम्भूस्थित सुनगाभा होम्समा सम्पन्न कार्यक्रममा सहभागीलाई मतदान प्रक्रियाबारे विस्तृत जानकारी दिँदै नमूना मतदान अभ्यास गराइएको थियो। कार्यक्रममा मतदानको महत्व, मतदान गर्ने सही तरिका तथा गोप्य मतदानको संवैधानिक अधिकारबारे अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमDisability Rights Fundको सहयोग तथाबौद्धिक अपांगताका अभिभावक महासंघको समन्वयमा सम्पन्न भएको हो। विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वले सहजीकरण गरेको उक्त कार्यक्रममा शैक्षिक संस्थाका विद्यार्थीहरूले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना अधिकारप्रति सचेत गराउँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरू उत्साहित देखिनुका साथै मतदान अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।