काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले थ्रेसहोल्ड कटाएका छन्। श्रम संस्कृति पार्टीको भने अवस्था अझै स्पष्ट भइसकेको छैन।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सिट प्राप्त गर्न कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत आवश्यक हुन्छ, जसलाई थ्रेसहोल्ड भनिन्छ। यसपटक समानुपातिकतर्फ करिब १ करोड ९ लाख मत खसेको आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। प्रत्यक्षतर्फको मतगणना लगभग सकिएको छ भने समानुपातिकतर्फको मतगणना फागुन २७ गते बिहानसम्म सम्पन्न गर्ने आयोगको लक्ष्य छ।

समानुपातिक मतगणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले पाएको मतका आधारमा आयोगले प्रत्येक दलले पाउने सांसद संख्या निर्धारण गर्नेछ। त्यसपछि दलहरूलाई बन्दसूचीभित्रबाट समावेशी क्लस्टर अनुसार सांसदको नाम सिफारिस गर्न पत्राचार गरिनेछ।

दलहरूले नाम सिफारिस गरेपछि आयोगले समावेशी क्लस्टरअनुसार मिलेको–नमिलेको जाँच गरी समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। निर्वाचन आयोगले चैत ५ गतेभित्र यी सबै प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको जनाएको छ।