
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगका अनुसार १६३ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म रास्वपाले १२५ क्षेत्रमा जित निकालेको छ भने कांग्रेसले १८ ठाउँमा जितेको छ । नेकपा एमालेले ७ क्षेत्रमा जितेको छ भने नेपाली कम्युनिष्ट पार्टीले पनि ७ ठाउँमा जितेको छ । श्रम संस्कृति पार्टीले ३ ठाउँमा जित निकालेको छ । राप्रपाले एक स्थानमा मात्र जितेको छ । एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
यसैबीच सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ । उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो । निर्वाचन आयोगले कमलको उम्मेदवारी खारेज गरे पनि उनले सर्वाधिक मत ल्याएपछि अदालतको आदेश कुर्नुपर्ने भएको हो ।
प्रत्यक्षतर्फको नतिजामा भारी अग्रता लिएको रास्वपाले समानुपातिक तर्फ पनि अरु दललाई पछि पारेको छ । समानुपातिकतर्फको मत गणना अन्तिमतिर पुग्दा निर्वाचन आयोगले गराएको अपडेटअनुसार समानुपतिक मतमा पनि रास्वपा पहिलो हुने देखिएको छ । रास्वपाको ४८ प्रतिशतभन्दा धेरै मत आउँदा दोस्रो स्थानमा कांग्रेसको १६ प्रतिशत नाघेको छ । तेस्रोमा रहेको एमालेको १३ प्रतिशत कटेको छ । त्यसैगरी चौथोमा रहेको नेकपाको सात प्रतिशत नाघेको छ । पाँचौमा श्रम संस्कृति पार्टी र छैटौमा रहेको राप्रपाको तीन प्रतिशत थ्रेसहोल्ड कटेको छ ।
छ वटै दलले अहिलेसम्म गणना भएको मतको आधारमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् । मत पाए पनि प्रत्यक्षमा निर्वाचित नभएकाले र तीन प्रतिशत थ्रेसहोल्ड पार नगरेकाले राष्ट्रिय परिवर्तन पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीलगायत राष्ट्रिय दल नबन्ने भएका छन् । राष्ट्र निर्माण दल नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी, नेपाल जनता संरक्षण पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि समानुपातिकमा मत पाएका छन् ।
यसैबीच निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातीकतर्फ निर्वाचित हुनेहरुलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरु सम्पन्न भइसक्ने जानकारी दिएका छन् । उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धीत दलहरुसंग माग गरिने जानकारी दिए । त्यसपछि दलहरुबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरुको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।
उनले अभ्यासलाई निरन्तरता यसपटकपछि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अघि बढाइएको धारणा राखे । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई अघि सारेकाले अब उनै बालेन प्रधानमन्त्री बन्ने पक्का भएको छ ।






Facebook Comments