काठमाडौँ —प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेपछि नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशनको तयारी सुरु गरिएको छ।

संवैधानिक प्रावधानअनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ। तर आगामी अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक स्थायी संसद् भवन अझै पूर्ण रूपमा तयार भइसकेको छैन।

अधिवेशनअघि नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। परम्पराअनुसार सबैभन्दा जेष्ठ सदस्यले सर्वप्रथम राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन्। त्यसपछि सोही सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था छ।

हाल नियमित रूपमा संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध नभएको अवस्था छ। ‘जेन्जी’ आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि बैठक सञ्चालनका लागि वैकल्पिक स्थान खोज्नुपर्ने परिस्थिति सिर्जना भएको हो।

यसको अस्थायी समाधानका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हललाई प्रयोग गर्ने तयारी गरिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार उक्त हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।

यसैबीच संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छ। कार्यक्रममा कानून निर्माण प्रक्रिया, संसद्मा प्रश्न उठाउने तरिका लगायतका व्यवहारिक विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ।