
काठमाडौँ —प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणामका आधारमा विभिन्न दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट बाँडफाँटको प्रारम्भिक गणना पनि गरिएको छ।
समानुपातिक प्रणालीमा सिट बाँडफाँट गर्दा सबैभन्दा पहिले सबै दलले प्राप्त गरेको मत जोडेर कुल सदर मत निर्धारण गरिन्छ। त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मतलाई कुल सदर मतसँग तुलना गरी प्रतिशत निकालिन्छ। हालसम्म गणना भएको करिब १ करोड ४ लाख मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख ८७ हजार ७०७ मत प्राप्त गरी करिब ४७.९६ प्रतिशत मत पाएको देखिन्छ। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ९१ हजार ७६ मत (१६.२७ प्रतिशत), एमालेले १४ लाख ७ हजार ९२३ मत (१३.५४ प्रतिशत), नेकपाले ७ लाख ६६ हजार ३९२ मत (७.३७ प्रतिशत), श्रम संस्कृति पार्टीले ३ लाख ५५ हजार ७३७ मत (३.४२ प्रतिशत) र राप्रपाले ३ लाख २४ हजार ५१ मत (३.१२ प्रतिशत) प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दललाई समानुपातिक सिट बाँडफाँटमा सहभागी गराइँदैन। यस आधारमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने ६ दल मात्र सिट बाँडफाँट प्रक्रियामा सहभागी हुने देखिन्छ। जसपा (१.६४ प्रतिशत) र जनमत पार्टी (०.७३ प्रतिशत) भने थ्रेसहोल्डभन्दा तल रहेका छन्।
ती ६ दलले प्राप्त गरेको कुल मत ९५ लाख ३२ हजार ८८६ हुन्छ। यो मतलाई समानुपातिकतर्फको कुल ११० सिटले भाग गर्दा प्रति सिट ८६ हजार ६६२ मतको ‘भाजक’ निर्धारण हुन्छ। त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मतलाई उक्त भाजकले भाग गरेर पहिलो चरणमा सिट संख्या निकालिन्छ।
यसरी गणना गर्दा रास्वपाले पहिलो चरणमा ५७ सिट, कांग्रेसले १९ सिट, एमालेले १६ सिट, नेकपाले ८ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ३ सिट प्राप्त गर्ने देखिन्छ। यस चरणपछि कुल १०७ सिट बाँडफाँट हुन्छ र बाँकी ३ सिट दलहरूको बाँकी मतको आधारमा थप वितरण गरिन्छ।
बाँकी मतको अवस्थाअनुसार नेकपा, राप्रपा र रास्वपालाई थप १–१ सिट प्राप्त हुने देखिन्छ। यसरी समानुपातिकतर्फ रास्वपाले ५८ सिट, कांग्रेसले १९ सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
यद्यपि यो गणना हालसम्म प्राप्त मतपरिणामका आधारमा गरिएको प्रारम्भिक अनुमान मात्र हो। अन्तिम मतगणनाले सिट संख्यामा केही फेरबदल हुन सक्ने सम्भावना पनि रहेको छ। विशेषगरी रास्वपा र कांग्रेसबीच बाँकी मतको अन्तर करिब तीन हजारको हाराहारीमा रहेकाले कांग्रेसको एक सिट बढ्ने र रास्वपाको एक सिट घट्ने सम्भावना पनि औँल्याइएको छ।
हालको मत परिणामलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली जोडेर रास्वपाले १८३ सिट, कांग्रेसले ३७ सिट, एमालेले २५ सिट, नेकपाले १७ सिट, श्रम संस्कृति पार्टीले ७ सिट र राप्रपाले ५ सिट प्राप्त गर्ने देखिन्छ। स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन निर्वाचित भएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। यस आधारमा रास्वपा एक सिटले दुई तिहाइ बहुमतबाट पछि पर्ने देखिए पनि स्वतन्त्र उम्मेदवार महावीर पुनले साथ दिएमा सो बहुमत पुग्ने सम्भावना देखिएको छ। पुनलाई रास्वपाले निर्वाचनमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकाले पुनले रास्वपालाई साथ दिने देखिन्छ ।






Facebook Comments