काठमाडौंमा रहेका कूटनीतिक नियोगका प्रमुखहरूलाई लक्षित गर्दै नेपालका लागि बंगलादेशका राजदूतMd. Shafiqur Rahmanले मंगलबार इफ्तार–डिनरको आयोजना गरेका छन्।

काठमाडौंस्थित एक होटलमा मार्च १० मा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै राजदूत रहमानले रमजान महिनाको शुभकामना व्यक्त गर्दै यसको आध्यात्मिक भावना र शिक्षाबारे चर्चा गरेका थिए। उनले बंगलादेश र नेपालबीच लामो समयदेखि रहेको मित्रवत सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

राजदूत रहमानले हालै नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सफल भन्दै नेपाली जनतालाई बधाई पनि दिएका थिए। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गर्न बंगलादेश तयार रहेको बताए।

बंगलादेशको लोकतान्त्रिक सुधार र विकास यात्राबारे चर्चा गर्दै उनले बंगलादेशको नयाँ सरकारले लोकतान्त्रिक सुधारलाई अघि बढाउने, विभेदरहित र भ्रष्टाचारमुक्त समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको बताए। उनले यो अभियानTarique Rahmanको नेतृत्वमा अघि बढिरहेको उल्लेख गरे।

कार्यक्रममा जर्मनी, फ्रान्स, पाकिस्तान, श्रीलंका, साउदी अरेबिया, कतार, फिनल्याण्ड, जापान, इजिप्ट र म्यानमारका राजदूतहरू तथा अमेरिका, मलेसिया र रुसका चार्जे डी’अफेयर, भारत र बेलायतका उपप्रमुख दूत सहभागी भएका थिए।

त्यस्तै, सार्कका महासचिव, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रमुखलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।

इफ्तारपछि आयोजना गरिएको रात्रिभोजमा अन्तर्राष्ट्रिय परिकारका साथै बंगलादेशी समुद्री परिकारको स्वाद प्रस्तुत गरिएको थियो। कार्यक्रममा काठमाडौंस्थित १८ वटा दूतावास तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूको सहभागिता रहेको बताइएको छ।