काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ सार्वजनिक नतिजाअनुसार दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस देशभरका ८२ निर्वाचन क्षेत्रमा उपविजेता बनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले सबैभन्दा धेरै क्षेत्रमा दोस्रो स्थान हासिल गरेको हो।

निर्वाचनमा अभूतपूर्व सफलता पाउँदै १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। त्यसपछि कांग्रेस दोस्रो ठूलो दल भए पनि धेरै क्षेत्रमा जित नजिक पुगेर दोस्रो स्थानमा सीमित भएको देखिएको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमाले ४१ निर्वाचन क्षेत्रमा दोस्रो भएको छ भने नेपाली कम्युनिस्ट पार्टी १८ क्षेत्रमा उपविजेता बनेको छ। यस्तै रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा रहेका छन्।

निर्वाचन हुनुभन्दा करिब चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य उपस्थिति देखाएको छ। प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टी चार निर्वाचन क्षेत्रमा उपविजेता बनेको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक निर्वाचन क्षेत्रमा दोस्रो भएका छन्। कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बनेका छन् भने धनुषा–१ को नतिजा अझै अनिर्णित रहेको छ।

प्रदेश अनुसार कांग्रेसको अवस्था

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये चार स्थानमा जित निकालेको कांग्रेस १२ क्षेत्रमा दोस्रो भएको छ। मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक सिट जित्दा १३ क्षेत्रमा दोस्रो स्थानमा सीमित भएको छ।

त्यस्तै गण्डकी प्रदेशका १२ र बागमती प्रदेशका २० निर्वाचन क्षेत्रमा कांग्रेस उपविजेता भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका १० निर्वाचन क्षेत्रमा पनि कांग्रेस दोस्रो स्थानमा रहेको छ।

एमाले ४१ क्षेत्रमा दोस्रो

प्रत्यक्षतर्फ नौ सिट जितेको नेकपा एमाले देशभरका ४१ निर्वाचन क्षेत्रमा उपविजेता बनेको छ। एमालेका उम्मेदवार कोशी प्रदेशका नौ र मधेश प्रदेशका चार निर्वाचन क्षेत्रमा दोस्रो भएका छन्।

यसैगरी बागमती र गण्डकी प्रदेशका पाँच–पाँच क्षेत्रमा एमाले दोस्रो स्थानमा रहेको छ। लुम्बिनी प्रदेशका ११, कर्णालीका पाँच र सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा पनि एमाले उम्मेदवार दोस्रो भएका छन्।

नेपाली कम्युनिस्ट पार्टी १८ क्षेत्रमा दोस्रो

प्रत्यक्षतर्फ सात सिट जितेर चौथो ठूलो दल बनेको नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा उपविजेता बनेको छ। कोशी प्रदेशअन्तर्गत हिमाली जिल्ला सोलुखुम्बुको एक निर्वाचन क्षेत्रमा दोस्रो भएको उक्त पार्टी मधेश प्रदेशका पाँच क्षेत्रमा पनि निकटतम प्रतिस्पर्धी बनेको छ।

बागमती प्रदेशका पाँच निर्वाचन क्षेत्रमा दोस्रो भएको नेकपा गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाको एक क्षेत्रमा उपविजेता भएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिमका तीन–तीन निर्वाचन क्षेत्रमा पनि उक्त पार्टी दोस्रो स्थानमा रहेको छ।

रास्वपा ६ र श्रम संस्कृति ४ क्षेत्रमा दोस्रो

झण्डै दुईतिहाइ बहुमत नजिक पुगेको रास्वपा संखुवासभा, सुनसरी–१, रसुवा, कपिलवस्तु–३, बाँके–२ र सल्यान–१ मा दोस्रो स्थानमा देखिएको छ।

यसपटक तराई–मधेश केन्द्रित दलहरूले प्रत्यक्षतर्फ जित निकाल्न सकेनन्। मधेशका मुद्दा उठाउँदै आएका ती दलहरू संसदमा प्रत्यक्षतर्फ प्रतिनिधित्वविहीन हुने अवस्थामा पुगेका छन्।

जसपा नेपाल सप्तरी–२, सप्तरी–३, महोत्तरी–२, महोत्तरी–४, रौतहट–३ र बारा–२ मा दोस्रो भएको छ।

यस्तै प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टी इलाम–१, उदयपुर–१, मोरङ–१ र उदयपुरका एक क्षेत्रमा दोस्रो स्थानमा देखिएको छ।

सप्तरी–१ मा स्वाभिमान पार्टी र महोत्तरी–३ मा नेपाल संघीय समाजवादी पार्टी उपविजेता बनेका छन् भने कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा दोस्रो स्थानमा आएका छन्।