काठमाडौँ — हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै आफ्नो पार्टीले अपेक्षा गरेअनुसार परिणाम हासिल गर्न नसकेको बताएका हुन्।

ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको फैसला नै अन्तिम हुने उल्लेख गर्दै प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्ने सबै मतदाता, नेता–कार्यकर्ता र समर्थकप्रति आभार प्रकट गरेका छन्।

कठिन परिस्थितिमा पनि साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उनले उल्लेख गरेका छन्। जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पार्दै उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने बताएका छन्।

ओलीले निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभए पनि यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वीकार गर्दै आगामी राजनीतिक यात्रालाई अझ सक्रिय बनाउने संकेत दिएका छन्। सन्देशको अन्त्यमा उनले समर्थकहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई रोक्न नसक्ने बताएका छन्।

यस्तो छ ओलीको सन्देशः

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।❤️
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।