काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् ।

काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको हो ।

यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो । तर सहमति कार्यान्वयन भएन । अहिले सो सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडान स्थानीयले लिएका छन् ।


नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई रोकेका छन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताहरुले पनि स्थानीयको मागमा समर्थन जनाएका छन् ।