प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ। तर नयाँ सरकार बने पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था भने तत्काल सहज नहुने देखिएको छ।
ललितपुरको भैँसेपाटीस्थित मन्त्रीनिवास परिसर २४ भदौमा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूलाई बसोबासको समस्या देखिएको हो। करिब १ अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्ष नपुग्दै क्षतिग्रस्त भएको थियो।
सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालको अवस्थामा उक्त परिसरमा बस्न मिल्ने अवस्था छैन। त्यसैले नयाँ सरकार गठन भएपछि मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक बसोबासको व्यवस्था गरिने तयारी गरिएको छ। काठमाडौं उपत्यकामा आफ्नै घर भएका मन्त्रीहरूलाई आफ्नै घरमा बस्न आग्रह गरिने तथा अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने जनाइएको छ।
उक्त मन्त्रीनिवास परिसरको पुनर्निर्माण प्रक्रिया भने सुरु भइसकेको छ। २७ वटा भवन रहेको परिसरमा बढी क्षति पुगेका भवनहरूको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। प्राविधिक तथा आर्थिक मूल्यांकनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइने योजना रहेको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।






Facebook Comments