काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ ।

रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।

उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको हो ।

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निक्र्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो । पार्टी सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको हो ।

प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।

रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ । पार्टीले सरकारको नेतृत्व र्दा संसदीय दलको नेताले नेतृत्व गर्ने पार्टीको विधान अनुसार शाहलाई संसदीय दलको नेता बनाउन लागिएको हो ।

रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो । पुस १३ गते दुई पक्षबीचमा सहमति बनेको थियो ।

समानुपातिक तर्फका उम्मेदवारले समेत निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने रास्वपाले जानकारी गराएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नजिता आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मतको आधारमा रास्वपाले दुईतिहाइ नजिकको सिट (१८२) पाएको छ ।

सरकार बनाउनुअघि संसदीय दलको नेता चयन गर्नुपर्ने हुँदा विधानको व्यवस्था संशोधन गरेर शाहलाई दलको नेता बनाउन लागिएको हो । सह प्रवक्ता रावलका अनुसार समानुपातिकतर्फबाट सांसद बन्नेहरूको टुंगो लागेपछि विधान संशोधन गर्ने तयारी गरिएको छ ।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट र प्रत्यक्षतर्फ १२५ सिट जितेको छ ।