काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ प्राप्त समानुपातिक सिटका लागि सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले क्लस्टरका आधारमा १६ जनाको नाम अनुमोदन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । निर्णयअनुसार जनजाति क्लस्टरबाट भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ महिला तथा रामबहादुर थापा मगर र कुलभक्त शाक्य पुरुष चयन भएका छन् । खस आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल महिला चयन भएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् । थारु क्लस्टरबाट कृपाराम राणा चयन भएका छन् । दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी महिला चयन भएका छन् । त्यसैगरी मधेसी क्लस्टरबाट रिङ्ला यादव र यशोधा कुमारी यादव महिला तथा चन्द्रेश्वर मण्डल पुरुष चयन भएका छन् । मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छन् । 

एमालेले संविधानमा रहेको समावेशी व्यवस्थाअनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी सूची तयार पारेको हो । पार्टीले समानुपातिकतर्फ १६ सिट जितेको थियो । समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएपछि आयोगले प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढ्नेछ । बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पु¥याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । 

भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल हुन गएको बुझाइ बैठकमा व्यक्त भएको थियो । भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको थियो । उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको निष्कर्ष पार्टीभित्र बनेको छ । 

यसैबिच पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवाद भएको जानकारी नभएको बताए ।