काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलन तथा एकता महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । “हाम्रो एकता समृद्धिको आधार” नाराका साथ आयोजित सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेका हुन् ।
सम्मेलनमा विश्वभरबाट ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट सहभागिता जनाएका छन् । सम्मेलनले निर्वाचनमार्फत संघको नयाँ नेतृत्व चयन गर्नेछ । लामो समयदेखि जारी विवादपछि एनआरएनएमा एकता कायम गर्दै महाधिवेशन आयोजना गरिएको हो ।
यसअघि २०८९ भदौमा सम्पन्न निर्वाचनबाट बद्री केसी एनआरएनएको अध्यक्षमा निर्वाचित भएका थिए । तर उनका प्रतिस्पर्धी महेश कुमार श्रेष्ठ र आर.के. शर्माले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै परिणाम अस्वीकार गरेका थिए । त्यसपछि सुरु भएको विवादका कारण एनआरएनए करिब दुई वर्षसम्म समानान्तर संरचनामा सञ्चालन जस्तै अवस्थामा पुगेको थियो ।
११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी र गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्ष बनेका महेश कुमार श्रेष्ठबीच सहमति भएपछि संघभित्रको विभाजन अन्त्य भएको हो । सो सहमतिपछि दुवै पक्ष एकीकृत भएसँगै अहिले विश्व सम्मेलनसँगै एकता महाधिवेशन आयोजना गरिएको हो । सम्मेलनपछि संघले नयाँ ढंगले अघि बढ्ने र संस्थागत रूपमा पुनर्जीवित हुने विश्वास गरिएको छ ।
अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले पनि सम्मेलनले विगत ४–५ वर्षदेखिको विवाद अन्त्य गर्दै संघलाई साझा उद्देश्यतर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
सम्मेलनका क्रममा गैरआवासीय नेपाली ऐन, गैरआवासीय नेपालीले पाउने नागरिकता, संविधानले सुनिश्चित गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, लगानीका अवसरलगायत विभिन्न विषयमा छुट्टाछुट्टै सत्रमार्फत छलफल हुने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको संविधान, राष्ट्रिय योजना तथा विभिन्न कानुनहरूले गैरआवासीय नेपालीलाई राष्ट्रको समग्र विकासका साझेदारका रूपमा स्वीकार गरेको उल्लेख गरे । उनले गैरआवासीय नेपाली समुदायसँग रहेको अनुभव, अन्तर्राष्ट्रिय सञ्जाल र पूँजी नेपालको विकास तथा रूपान्तरणका लागि महत्वपूर्ण स्रोत भएको बताउँदै औद्योगिक विकास, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनामा एनआरएनएको भूमिका अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखि नेतृत्व विवाद र समानान्तर संरचनाका कारण कमजोर बनेको एनआरएनए अहिले देखिएको एकतासँगै पुनः सुदृढ हुने अपेक्षा गरिएको छ । सम्मेलनपछि संस्थाले नयाँ ऊर्जा र स्पष्ट दिशासहित विश्वभरका नेपालीलाई एउटै मञ्चमा समेट्दै अघि बढ्ने विश्वास गरिएको छ ।






Facebook Comments