
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो । बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टी नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।
१८२ सीटसहित सरकार बनाउने तयारीमा रहेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका लागि २ दिने कार्यशाला आयोजना गरेको हो ।
अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित गराइने छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित छैनन् । रास्वपाले सार्वजनिक गरेको कार्यतालिकामा सभापति लामिछानेले दोस्रो दिन समापनसत्रमा सम्बोधन गर्ने उल्लेख भए पनि वरिष्ठ नेता शाहको भूमिकाबारे केही बताइएको छैन ।
यद्यपि शाह उद्घाटनपछिको सत्रमा उपस्थित हुने बताइएको छ ।






Facebook Comments