
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न आजदेखि दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ । परिवर्तनको नेतृत्व, परिणामको राजनीति भन्ने मूल नाराका साथ ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
जनताको विश्वासलाई सार्थक बनाउँदै सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
यस्तो छ दुई दिने कार्यतालिका
पहिलो दिनः संसदीय अभ्यास र अनुभव आदानप्रदान
कार्यक्रमको पहिलो दिन आज पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिनेछ। त्यसलगत्तै पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले किनोट मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे प्रस्तुति दिनेछन्। अर्का उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियानको अनुभव साट्नेछन्।
पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्। यसैगरी, अध्येता डा दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन्। पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा। तोसिमा कार्की, सोबिता गौतम, गणेश पराजुली लगायतले आफ्नो संसदीय अनुभव नवनिर्वाचित सांसदहरूलाई सुनाउनेछन्।
दोस्रो दिनः बजेट निर्माण, सुशासन र पार्टी रणनीति
चैत्र ४ गतेको कार्यक्रम बिहान योग तथा ध्यानबाट सुरु हुनेछ। दोस्रो दिन विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहनेछ। पूर्वसचिव डा तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे सांसदहरूलाई प्रशिक्षित गर्नेछन्।
त्यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले नयाँ राजनीतिक संस्कारमा सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रष्ट पार्नेछन्। सांसदहरूद्वारा आगामी एजेन्डाको प्राथमिकता निर्धारण गर्ने समूहगत कार्य पनि सोही दिन हुनेछ।
दुई दिने यस महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रमको अन्त्यमा रास्वपाका सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू स्पष्ट पार्दै समापन मन्तव्य राख्ने तालिका रहेको छ।
सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दै जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न यो कार्यक्रमले सहयोग पु¥याउने रास्वपाको विश्वास छ।






Facebook Comments