
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनले थापा सभापति पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा छ ।
उनले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गरेका छन् । उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन् ।
‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।’
थापाले पार्टीका विभिन्न तहमा रहेको व्यक्तिहरू समर्थक र शुभेच्छुकहरूले पठाइरहेका सन्देशहरूले ऊर्जा दिएको बताएका छन् । ‘ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको अपेक्षा र विश्वासका प्रतीक पनि हुन् । म प्रतिको त्यो विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा प्रष्ट छु,’ थापाको राजीनामा पत्रमा उल्लेख छ ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ । तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
तत्कालीन सभापति देउवा र उनको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए । पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई अद्यावधि गर्ने निर्णय ४ माघमा लिएको थियो । त्यसपछि आयोगको निर्णयलाई चुनौती दिँदै सभापति देउवा पक्षका तर्फबाट तत्कालिन कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका छ ।
कांग्रेस विवादको मुद्धा सर्वोच्चमा विचाराधिन छ ।






Facebook Comments